काठमाडौँ । जनयुद्धकालीन मुद्दाहरूलाई सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी)मार्फत समाधान गर्न नसक्दा पुराना दलहरू असफल भएको आरोप लाग्दै अब त्यसको जिम्मेवारी नयाँ नेतृत्वतर्फ सरेको टिप्पणी गरिएको छ। राजधानीको संवाद डबलीमा अखिल नेपाल जन सांस्कृतिक महासङ्घद्वारा बिहीबार आयोजित कार्यक्रममा वक्ताहरूले रास्वपा सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन शाहमाथि उक्त जिम्मेवारी आएको बताएका हुन्।
कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विस्तृत शान्ति सम्झौतापछि टिआरसी प्रक्रियालाई निष्कर्षमा पुर्याउनुको सट्टा पुराना दलहरू सत्ता केन्द्रित राजनीतिमै अल्झिएको आरोप लगाए। उनले जनयुद्धको नेतृत्व गरेको माओवादी र त्यसका शीर्ष नेता प्रचण्डको भूमिकालाई गैरजिम्मेवार भन्दै अहिलेको अवस्था सिर्जना भएको दाबी गरे। टिआरसीलाई समयमै टुंगोमा नपुर्याए थप जटिलता उत्पन्न हुन सक्ने चेतावनी दिँदै उनले नयाँ नेतृत्वले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
वक्ताहरूले रास्वपा नेतृत्वको सरकारलाई सकारात्मक काममा साथ दिने तर पुराना दलहरूको जस्तै गल्ती दोहोरिएमा विरोध गर्ने स्पष्ट पारे। कार्यक्रममा नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य माइला लामाले जनआन्दोलनपछिको निर्वाचनले परिवर्तनको स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकारले त्यसलाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे।
महासङ्घका महासचिव कुशल बोगटीले २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा राज्यपक्षबाट जनकलाकारहरूको हत्या गरिएको घटनाको स्मरणमा सांस्कृतिक प्रतिरोध दिवस मनाइँदै आएको जानकारी दिए।
