कैलालीको टीकापुरस्थित खक्रौला भन्सा नाकामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा ब्यारेकभित्रै प्रवेश गरी स्थानीय व्यापारीहरूको समूहले प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि हातपात गरेको घटना सार्वजनिक भएको छ। मंगलबार भारतबाट भन्सार छली गरेर ल्याएको आशंकामा बिलबिजक नभएको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि उत्पन्न विवादले बुधबार झन् उग्र रूप लिएको हो।
सामान नियन्त्रणमा लिएको विषयमा असन्तुष्ट ५–६ जना व्यापारीहरू ब्यारेकभित्रै प्रवेश गरी डीएसपी पौडेलमाथि हातपात गरेको सशस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी खुमबहादुर केसीले जानकारी दिएका छन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ।
यसअघि उद्योग वाणिज्य संघका पदाधिकारीसहित भएको छलफलमा बिलभन्दा बढीका सामान भन्सार कार्यालयमा बुझाउने सहमति भए पनि सो सहमति कार्यान्वयनमा नआउँदा विवाद दोहोरिएको बताइएको छ।
घटनाको छानबिनका लागि सशस्त्र प्रहरीले समिति गठन गरेको छ। छानबिनपछि बरामद सामग्री भन्सार छलीकै हो वा होइन भन्ने यकिन हुने र त्यसपछि मात्रै थप कारबाही प्रक्रिया अघि बढाइने एसपी केसीले बताएका छन्।
