विराटनगर । मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापाको आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो। चिकित्सकको सिफारिसअनुसार तत्काल रगतको खोजी गर्दा रक्तसञ्चार केन्द्रमा उपलब्ध नभएको जानकारी पाएपछि थापा र उनका परिवार रक्तदाता खोजीमा भौँतारिन पुगे।
थापाले भने, “चिकित्सकले तुरुन्तै रगत चाहिएको जानकारी दिनुभयो, तर रगत केन्द्रमा अभाव भएको थाहा पाएँ। त्यसपछि हामीले फेसबुकमा रगतको लागि सन्देश हाल्यौँ र साथीभाइलाई फोन गर्यौँ। तर समयमा रगत मिलाउन निकै कठिन भयो। सबैभन्दा ठूलो डर बिरामीको ज्यानको हुने रहेछ। रगत खोज्न दौडधुप गर्दा अत्यधिक तनाव भयो।”
कोशी अस्पतालमा उपचारका लागि आएका अन्य बिरामीका आफन्तले पनि यस्तै समस्या व्यक्त गरेका छन्। उनीहरूले भने, “हामीलाई लाग्थ्यो अस्पतालमा रगतको सहज व्यवस्था हुने, तर अन्ततः आफैं खोज्नुपर्दा निकै अप्ठ्यारो भयो। यस्तो अवस्थामा परिवारहरू मानसिक रूपमा पनि तनावमा पर्छन्।”
हाल, कोशी प्रदेशका प्रमुख अस्पतालहरूमा उपचार गराइरहेका सयौँ बिरामीका परिवारहरूले यस्तै कठिनाइ भोगिरहेका छन्। आकस्मिक उपचारका लागि आवश्यक रगत सहज रूपमा उपलब्ध नहुँदा बिरामीका आफन्तहरू आफैं रक्तदाता खोज्न बाध्य छन्। चिकित्सकहरूले रगत अभावको समस्या पछिल्लो समय झन् गम्भीर बन्दै गएको र आकस्मिक शल्यक्रिया, दुर्घटना तथा प्रसूति जस्ता अवस्थामा तत्काल रगत उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा पर्ने बताएका छन्।
कोशी प्रदेशका सरकारी तथा निजी अस्पतालमा पर्याप्त रगत उपलब्ध नहुँदा बिरामीका परिवारहरू सडक र सामाजिक सञ्जालमार्फत रक्तदाता खोज्न बाध्य छन्। विराटनगरस्थित निजी अस्पताल एसोसिएसन (अफिन) का अध्यक्ष डा. शङ्करप्रसाद अधिकारीले बताए अनुसार, रक्तसञ्चार सेवा केन्द्रहरूमा पर्याप्त स्टोरेज नहुँदा अस्पतालहरूले आकस्मिक र नियमित बिरामीको लागि आफैं रगत व्यवस्थापन गर्न वा साटासाट (एक्सचेन्ज) गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
डा. अधिकारीका अनुसार, अहिले अस्पतालहरूले ‘सब्स्टिच्युट’ वा साटासाटको प्रणाली अपनाउनुपरेको छ। यदि बिरामीलाई आवश्यक निश्चित रक्त समूह उपलब्ध छैन भने, अर्को समूहको रगत दिएर साट्ने व्यवस्था मिलाइएको छ ताकि उपचार रोकियोस् भन्ने अवस्था नआओस्। तर सडक दुर्घटना वा आकस्मिक घटनामा समयमै रगत उपलब्ध गराउन अझै ठूलो चुनौती कायम रहेको छ।
डा. अधिकारीले क्षेत्रीय स्तरमा रगतको केन्द्रीकृत व्यवस्थापन (सेन्ट्रलाइज्ड म्यानेजमेन्ट) आवश्यक रहेको बताए। साना अस्पतालहरूले आफ्नै ब्लड बैंक नहुँदा रेडक्रस, नोबेल वा विराटनगरका ठूला संस्थामा निर्भर रहनुपर्दछ। उनले भने, “सबै साना अस्पतालमा ब्लड बैंक राख्दा रगत खपत नहुने जोखिम रहन्छ, त्यसैले एउटै बलियो र केन्द्रीकृत व्यवस्थापन प्रभावकारी हुन्छ।”
विराटनगरस्थित कोशी अस्पतालमा बिरामीको चापसँगै दैनिक रगतको अभाव देखिन्छ। स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा. अन्जु देवले बताइन् कि प्रसूति र शल्यक्रिया सेवा अत्यन्तै आकस्मिक हुने भएकाले रगतको अभाव सबैभन्दा बढी समस्या उत्पन्न गर्ने गर्छ। कहिलेकाहीँ बिरामी भर्ना हुनुअघि एक पोका रगतको व्यवस्था गर्न बाध्य बनाइन्छ। अस्पतालमा ब्लड बैंक नभएकाले रेडक्रसमा निर्भर हुनुपर्छ।
प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख शिवानन्द यादवका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९००–१००० युनिट रगतको माग हुन्छ। विशेषगरी मोरङ जिल्लाका अस्पतालहरूमा रगतको माग अत्यधिक हुन्छ। यससँगै, निर्वाचन वा अन्य राजनीतिक गतिविधिमा ध्यान केन्द्रित हुँदा नियमित रक्तदान कार्यक्रम ओझेलमा पर्ने र सङ्कलनमा गिरावट आउँदा अभाव अझ बढेको यादवले बताए।
रगत अभावको दीर्घकालीन समाधानका लागि समाजमा ‘नियमित रक्तदान संस्कृति’ को विकास अपरिहार्य रहेको सरोकारवालाहरू बताउँछन्।
