कैलाली । कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिंदा एक दम्पतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृतक दम्पतीमा सोही स्थानका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेका छन्।
प्रारम्भिक जानकारीअनुसार ना. ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दम्पती गम्भीर घाइते भएका थिए र उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याउँदा उपचारको क्रममा दुवैको मृत्यु भएको हो।
प्रहरीका अनुसार ट्रकको ठक्करबाट गोरु पनि मरेका छन्। ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाका थप विवरण र कारण बुझ्न अनुसन्धान जारी रहेको छ।
