मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ। इजरायल र अमेरिकाले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्र साउथ पर्स ग्यास फिल्डमा हवाई आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गरेको छ, जसले ठूलो संरचनागत क्षति पुर्याएको छ।
कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो। आपतकालीन टोलीले आगो नियन्त्रणमा ल्याए पनि पूर्वाधारमा उल्लेख्य क्षति पुगेको बताइएको छ। घटनापछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको बीबीसीले जनाएको छ।
कतारको गृह मन्त्रालयले केही घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र मानवीय क्षति नभएको जनाएको छ। कतार सरकारले यस आक्रमणलाई आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामाथि सीधा खतरा भएको भन्दै कडा प्रतिक्रिया जनाएको छ। विदेश मन्त्रालयले इरानले ‘तनाव बढाउने नीति’ जारी राखेको आरोप लगाउँदै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ।
रास लाफान औद्योगिक क्षेत्र कतारको राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा अवस्थित छ। सन् १९६६ मा विशेष रूपमा प्राकृतिक ग्यास उद्योगका लागि निर्माण गरिएको यो क्षेत्रलाई कतारको “ग्यास राजधानी” पनि भनिन्छ। यहाँ मुख्यरूपमा प्राकृतिक ग्यास उत्पादन र प्रशोधन गरिन्छ र प्रशोधित ग्यास विश्वभर पठाइन्छ।
यो घटनाले मध्यपूर्वमा ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता बढाउने संकेत गरेको छ।
