काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० जना नेपाली नागरिकको उद्धार गरिएको छ। विभिन्न कारणले कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासको पहलमा सुरक्षित रूपमा स्वदेश फर्काइएको हो।
दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार गरिएकामध्ये धेरैजसो नेपालीहरू अनलाइन स्क्यामिङ केन्द्र, ठगीसम्बन्धी क्यासिनो तथा अन्य विभिन्न गैरकानुनी गतिविधिमा संलग्न गराइएका थिए। केही व्यक्ति भने वैध भिसाबिनै त्यहाँ बस्दै आएका थिए।
उद्धार कार्य थाइल्याण्डस्थित नेपाली दूतावासको सक्रिय समन्वय र कम्बोडिया सरकारको सहयोगमा सम्पन्न गरिएको हो। पछिल्लो समय दक्षिण–पूर्वी एशियाका विभिन्न मुलुकहरूमा नेपाली युवाहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी गतिविधिमा लगाउने घटनाहरू बढ्दै गएका छन्।
दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरिएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), कम्बोडियाको सहयोगमा बुधबार नै काठमाडौँ पठाइएको हो।
उनीहरूको उद्धारसँगै विदेश जाने क्रममा सतर्कता अपनाउन तथा आधिकारिक माध्यममार्फत मात्रै रोजगारीका लागि जान दूतावासले पुनः आग्रह गरेको छ। साथै यस्ता घटनाबाट जोगिन सरकार तथा सम्बन्धित निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
