काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजीनामाबारे पार्टीको केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ।
थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्। प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन्।
उनले बुझाएको राजीनामा पत्र भने हालसम्म सार्वजनिक गरिएको छैन।
कांग्रेसका एक पदाधिकारीका अनुसार सभापतिको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा केन्द्रीय समिति बैठकमै छलफल र निर्णय हुनेछ। यसका लागि केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको छ।
‘सभापतिको राजीनामाबारे त्यही बैठकमा छलफल र निर्णय हुन्छ,’ ती पदाधिकारीले बताए।
उक्त बैठकले हालै सम्पन्न निर्वाचनको समग्र समीक्षा पनि गर्नेछ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सभापति थापा सर्लाही–४ बाट पराजित भएका थिए। थापासहित चुनावमा प्रतिस्पर्धा गरेका अधिकांश पदाधिकारी पनि पराजित भएका छन्।
विशेष महाधिवेशन सम्पन्न भएको छोटो समयमै कांग्रेसले निर्वाचनमा भाग लिएको थियो। उक्त महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन।
विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ, र मुद्दा हाल विचाराधीन अवस्थामा छ।
निर्वाचनमा व्यापक पराजयपछि पार्टीभित्र सभापति थापाको आलोचना बढ्दै गएको थियो र राजीनामाको माग पनि उठिरहेको थियो।
