विश्व बजारमा बिहीबार कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। विश्वकै ठूलो प्राकृतिक ग्यास क्षेत्रमा आक्रमण भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको हो।
उक्त घटनापछि अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११२ अमेरिकी डलरसम्म पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा पाँच प्रतिशतभन्दा बढी वृद्धि हो। यद्यपि केही समयपछि मूल्यमा सामान्य सुधार देखिँदै स्थिर हुने संकेत पनि देखिएको छ।
यो मूल्यवृद्धिको मुख्य कारण साउथ पार्स ग्यास फिल्डमा रहेको इरानको पेट्रोकेमिकल संरचनामाथि गरिएको हवाई आक्रमणलाई मानिएको छ। इरान र कतारबीच साझा रहेको यो विशाल ग्यास भण्डारलाई कतारले ‘नर्थ डोम’ नामले चिनिन्छ। घटनापछि कतारले उक्त क्षेत्रमा व्यापक क्षति पुगेको जनाएको छ।
कतारको आन्तरिक मन्त्रालयका अनुसार आगलागीलाई नियन्त्रणमा ल्याइएको छ भने हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। तर कतारको सरकारी ऊर्जा कम्पनीले संरचनागत क्षति भने उल्लेखनीय रहेको जनाएको छ।
ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील मानिने क्षेत्रमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा चिन्ता र अनिश्चितता बढेको छ।
यसैबीच, इरानले आफ्नो ऊर्जा पूर्वाधारमाथि भएको आक्रमणप्रति कडा प्रतिक्रिया जनाउँदै निर्णायक प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानी सेनाले जारी गरेको वक्तव्यमा ऊर्जा, इन्धन तथा आर्थिक संरचनामाथि हुने आक्रमणको स्रोतलाई नै निशाना बनाइने स्पष्ट उल्लेख गरिएको छ।
यद्यपि हालको मूल्यवृद्धि अघिल्लो हप्ताको उच्च स्तरभन्दा अझै तलै रहेको छ। गत मार्च ९ मा तेलको मूल्य प्रति ब्यारेल ११६ डलर ७८ सेन्टसम्म पुगेको थियो।
