राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरुलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन्। सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले आकस्मिक अवस्थाबाहेक सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुपर्ने बताए। उनले भने,
“सक्नुहुन्छ भने सरकारी अस्पतालमा उपचार गराउनुस्। सेवालाई चुस्त बनाउनुस्। म बाध्यकारी भन्दिनँ।"
लामिछानेले पार्टीका सदस्यहरू भिन्न पृष्ठभूमिका भए पनि विवादमा नफसिन र काममा केन्द्रित रहन सुझाव दिए। उनले सामाजिक न्यायलाई सबैभन्दा ठूलो विकास ठानेर यसतर्फ ध्यान दिनुपर्ने बताए।
सभापतिले आगामी चुनावमा विकासको मापन सडक, शिक्षा र भौतिक पूर्वाधारमार्फत हुने उल्लेख गर्दै, पार्टीका सांसदहरुलाई राइट टु रिकलको व्यवस्था सम्झाउँदै चेतावनी दिए। उनले अरू पार्टीका नेताहरूप्रति कटाक्ष नगर्न र अराजक नहुन पनि निर्देशन दिए।
