गाजा। इजरायली सेनाले गाजामा लक्षित आक्रमणमा हमासका एक वरिष्ठ नौसैनिक कमाण्डर मारिएको दाबी गरेको छ। इजरायल रक्षा बल र आन्तरिक सुरक्षा निकायले संयुक्त रूपमा जारी गरेको वक्तव्यअनुसार उत्तरी गाजामा कार्यरत हमासको नौसैनिक इकाइका कमाण्डर युनुस मोहम्मद हुसेन अलियान सोमबारको आक्रमणमा मारिएका हुन्।
वक्तव्यमा उल्लेख छ कि अलियान आफ्नो इकाइको सञ्चालन, तालिम र हतियार तयारीको जिम्मेवारीमा रहेका थिए र हालका हप्ताहरूमा उनले इकाइको क्षमता पुनःनिर्माण गर्दै सम्भावित आक्रमणको योजना बनाइरहेका थिए। आक्रमणको क्रममा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाइएको पनि वक्तव्यमा भनिएको छ।
यसैबीच, प्यालेस्टिनी रेड क्रिसेन्ट र स्थानीय स्वास्थ्य स्रोतका अनुसार दक्षिणी गाजाको अल–मवासी क्षेत्रमा मङ्गलबार गरिएको हवाई आक्रमणमा ३ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य निकायले जनाएको छ कि सन् २०२३ अक्टोबर ७ यता सो क्षेत्रमा मृत्यु हुनेको संख्या ७२,२४९ पुगेको छ भने १,७१,८९८ जना घाइते भएका छन्।
विश्लेषकहरूले भने क्षेत्रीय द्वन्द्व अझै चर्किँदै गएको देखिएको बताएका छन्, जसले मानविय संकट र सुरक्षा चुनौतीहरूलाई थप बढाएको छ।
