अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट औपचारिक रूपमा फिर्ता लिएको घोषणा गरेको छ।
परराष्ट्रमन्त्री पाब्लो क्विर्नो ले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त निर्णय १७ मार्च २०२५ मा संयुक्त राष्ट्रसङ्घ का महासचिवलाई पठाइएको पत्रमार्फत सूचित गरिएको बताए।
भियना सन्धि अनुसार, सूचनाको एक वर्षपछि यो निर्णय औपचारिक रूपमा लागू भएको हो।
क्विर्नोका अनुसार अर्जेन्टिनाले अब स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्यलाई द्विपक्षीय सम्झौता र क्षेत्रीय मञ्चमार्फत अघि बढाउनेछ। साथै, स्वास्थ्य नीति निर्माणमा देशको सार्वभौमिक अधिकार र स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित रहने उनको भनाइ छ।
यसअघि सन् २०२५ मार्चमै अर्जेन्टिनाली सरकारले यो निर्णय सार्वजनिक गरेको थियो। राष्ट्रपतिका प्रवक्तामार्फत हवियर मिलेइ ले परराष्ट्रमन्त्रीलाई डब्लुएचओबाट देशको सहभागिता फिर्ता लिन निर्देशन दिएको जानकारी दिइएको थियो।
सरकारले यो निर्णयले देशलाई आवश्यकताअनुसार नीतिगत लचिलोपन प्रदान गर्ने, स्रोत व्यवस्थापन सुधार गर्ने र स्वास्थ्य क्षेत्रको सार्वभौमिकता सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।
