राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी नहुने भएका छन्।
काठमाडौँस्थित एक होटलमा मंगलबारदेखि सुरु भएको आवासीय कार्यक्रम बुधबार सम्पन्न हुँदैछ। समापन सत्रमा पार्टी सभापति रवि लामिछाने भने छोटो समयका लागि सहभागी हुने बताइएको छ।
पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार, अभिमुखीकरणको दोस्रो दिन लामिछाने उपस्थित हुने भए पनि वरिष्ठ नेता शाह भने कार्यक्रममा सहभागी हुने छैनन्।
उनका अनुसार, शाह अहिले आगामी सरकारको तयारीमा व्यस्त छन् र केही दिनमा शारीरिक तथा मानसिक रूपमा सक्रिय हुनुपर्ने भएकाले कार्यक्रममा अनुपस्थित रहनु परेको हो। साथै, उनको अनुपस्थितिलाई अन्य अर्थमा नलिन पनि आग्रह गरिएको छ।
