काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पार्टी पुनर्गठनको बहस सुरु भएको छ। फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट जितेपछि पार्टीभित्र आगामी रणनीति, नेतृत्व र संगठनात्मक सुधारबारे व्यापक चर्चा चुलिएको हो।
पार्टी महामन्त्री शरदराज पाठकले सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठन आवश्यक भएको बताउँदै यसलाई घनिभूत गर्नुपर्ने बताएका छन्। उनले लेखेका छन्, “राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब धरमर–धरमर भएर टुपुक्क राष्ट्रिय पार्टीमात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउन तत्काल व्यापक पुनर्संरचना आवश्यक छ।”
पाठकले यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अनिवार्य रहेको बताएका छन्। उनले भने, “यसरी सार्वजनिक रूपमा लेख्दा म माथि तीव्र गालीगलौज हुन सक्छ, तर मैले यो टिप्पणी आलोचना नभई सुधारका लागि मात्र लेखेको हुँ।”
महामन्त्री पाठकले राप्रपाको एजेन्डामा ठुलो समस्या नभएपनि नेताहरूको चिन्तन र कार्यशैलीमा कमजोरी रहेको दाबी गरेका छन्। उनका अनुसार पार्टीभित्रका बलशाली प्रवृत्तिहरू आधुनिक युगको राजनीतिक आयामलाई बेवास्ता गरेर पुरानो शैलीमा सक्रिय छन्, जसले पार्टीलाई आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनमा सुयोग्य उम्मेदवार चयन गर्न र आम मतदातामा प्रभाव पार्न कठिन बनाउने खतरा छ।
पाठकले पार्टीभित्रको समस्याहरू तल्लो स्तरसम्म पनि बहस गरी सुधार गर्न आवश्यक रहेको जोड दिंदै पार्टी पुनर्गठन र रणनीतिक सुधारका विषयमा सक्रिय बहस आरम्भ गर्न सबैलाई आग्रह गरेका छन्।

