काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई हालै सम्पन्न निर्वाचन सफल पार्न सहयोग गरेकोमा धन्यवाद दिएकी छिन्। उनले आज बालुवाटारमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत नेताहरूलाई बोलाएर छलफल गर्दै निर्वाचनमा सहकार्य गरेकोमा आभार व्यक्त गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले सो अवसरमा भनिन्, “तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण सिर्जना गर्नुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका निभाउनुभयो। यसका लागि धेरै धन्यवाद।” उनले निर्वाचनमा विजय भएका नेताहरूलाई बधाई दिइन् भने अन्य नेताहरूलाई आगामी अवसरका लागि शुभकामना दिइन्।
नेकपाका नेताहरूले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले राजनीतिक निकास पाएको भन्दै बधाई दिएका थिए। संयोजक प्रचण्डले भने, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो संकटमा जानेथ्यो। त्यसमा जुन साहस र मेहनतसाथ प्रधानमन्त्रीले काम गर्नुभयो, त्यो अत्यन्तै महत्त्वपूर्ण र प्रशंसालायक छ। सुरुदेखि नै हामी र हाम्रो पार्टी निर्वाचनको पक्षमा उभिएका थियौं।”
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण अस्तव्यस्त परिस्थितिमा ६ महिनाभित्रै चुनाव सम्पन्न भएको स्मरण गर्दै भने, “प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन हामीले ठूलो राहत महसुस गरेका थियौं। उहाँले नेतृत्व लिनु भएकोले संविधान र व्यवस्था जोगियो र मुलुक शान्तिपूर्ण रूपमा अगाडि बढ्न सक्यो।”
यो अवसरले प्रधानमन्त्री कार्की र नेकपा बीचको सहकार्य, राजनीतिक समझदारी र लोकतान्त्रिक अभ्यासको महत्त्वलाई पुनः प्रमाणित गरेको छ।
