तेहरान। इरानले इजरायली गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ। अर्ध–सरकारी समाचार संस्था तस्मिन न्युज एजेन्सीका अनुसार उक्त सजाय बुधबार बिहान कार्यान्वयन गरिएको हो।
समाचारअनुसार ती व्यक्तिले देशका संवेदनशील क्षेत्रहरूको तस्बिर र जानकारी मोसादका अधिकारीहरूलाई उपलब्ध गराएको आरोप लागेको थियो। इरानको सर्वोच्च अदालतबाट अनुमोदन भएपछि फाँसी कार्यान्वयन गरिएको बताइएको छ। एजेन्सीले जनाएको छ कि ती व्यक्ति स्विडेनमा बस्दा अनलाइनमार्फत मोसादको जासुसमा भर्ती भएका थिए।
उक्त व्यक्तिले यात्रासम्बन्धी विज्ञापन समूहमा आफ्ना विवरण राखेपछि एक फारसी भाषा बोल्ने मोसाद अधिकारीले उनीसँग सम्पर्क स्थापना गरेको दाबी गरिएको छ। उनलाई गत जुन महिनामा इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (आईआरजीसी)ले साभोजबोलाघ क्षेत्रमा पक्राउ गरेको थियो। पक्राउ पर्दा उनीसँग उन्नत जासुसी उपकरण, गुप्त सूचना संकलन सामग्री तथा स्याटेलाइट सञ्चार प्रणाली फेला परेको जनाइएको छ।
यो घटना इरान र इजरायलबीच बढ्दो तनावका बीच सार्वजनिक भएको हो। दुवै देशबीचको द्वन्द्वले हाल सैन्य तथा गुप्तचर गतिविधिहरूलाई झन् तीव्र बनाएको विश्लेषकहरूले उल्लेख गरेका छन्।
