तुलसीपुर — प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायकर्मीहरूले आफूलाई बदल्न आवश्यक रहेको बताएका छन्। उच्च अदालत तुलसीपुरको आज अनुगमन कार्यक्रममा उनले अदालत जलेका घटनाहरूको समीक्षा गरिने जानकारी दिएका छन्।
प्रधान न्यायाधीश राउतले भने,
“कुन-कुन कारणले अदालत जले र त्यसले कस्तो प्रभाव पारेको हो, त्यसको समीक्षा हामी गर्दैछौं। तर देशको बदलिंदो परिवेशमा न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीहरू हिजोको जस्तो तरिकाले सेवा प्रवाहमा लागे भने सेवाग्राहीमा नजानिँदो आक्रोश उत्पन्न हुन सक्छ। यसबारे विचार गर्नु आवश्यक छ।
उहाँले अदालतमा सेवा सहज, भरोसायोग्य र सेवाग्राहीमैत्री बनाउन न्यायकर्मीको सुधार आवश्यक रहेको बताए। उनले अझ जोड दिए,
“हामी बदलिनु पर्छ। यदि हामीले बदलिने प्रण गर्यौं भने अदालत जलेपनि हाम्रो न्याय सम्पादन कहिल्यै नष्ट हुन सक्दैन। यसबाट सेवाग्राहीले न्याय पाउनु संवैधानिक कर्तव्यभित्र पर्छ।”
प्रधान न्यायाधीश राउतले भदौ २४ पछि पुनर्निर्माणको कार्य भइसकेको स्थानमा अदालत संचालन भइरहेको र जलेका अदालतहरूका भौतिक संरचना निर्माणका लागि स्रोत साधन जुटाउने पहल भइरहेको बताए।
फरक प्रसंगमा, उच्च अदालत तुलसीपुरलाई देउखुरी मौरीघाटमा स्थानान्तरण गर्ने विषयमा आफूलाई जानकारी नभएको समेत उनले स्पष्ट पारे।
“हाम्रो अभिलेखमा ‘तुलसीपुर उच्च अदालत’ नै देखिन्छ। न्यायपरिषदको सहमति वा प्रधान न्यायाधीशको जानकारीमा यस्तो स्थानान्तरण आएको छैन। यसबारे थप केही भन्न आवश्यक छैन।”
त्यसअघि, आगजनीले ध्वस्त भएको भौतिक संरचना पुनर्निर्माण नभएसम्म उच्च अदालतलाई घोराहीस्थित जिल्ला अदालतमा स्थानान्तरण गरी सेवा सुरू गरिएको थियो।
