काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दै बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको हो। परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार ११ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार भने १२ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसदिन ३४० वटा धितोपत्रका तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर कारोबार भएका छन्।
कारोबार भएका कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्य घटेको छ। यस्तै १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
मंगलबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने साल्पा विकास बैंक र होटल फरेस्ट इनको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी, सर्वाधिक मूल्य घट्नेमा एनआइसी एसिया ग्रोथ फण्ड–२ रहेको छ। उक्त इकाइको मूल्य ४.७४ प्रतिशतले घटेर प्रतिइकाइ ९ रुपैयाँ २४ पैसामा झरेको छ। ग्लोबल आइएमई सम्मुनत योजना–२ को मूल्य पनि ३.६१ प्रतिशतले घटेर प्रतिइकाइ ९ रुपैयाँ ३५ पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा मंगलबार रिडी पावर अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ३७० रुपैयाँ प्रतिकित्ता दरमा ५६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा १.६५ प्रतिशतले बढी हो।
सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीका रूपमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ४११ रुपैयाँ ७० पैसामा ५१ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको छ। तीमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले बढेको छ।
