काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेल क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई अन्तरदेशीय अवैध रकम लेनदेन (हुण्डी कारोबार) गरेको आशंकामा पक्राउ गरिएको हो।
चीनको हुवान निवासी जियाङलाई आइतबार ठमेल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउका क्रममा उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ नगद बरामद भएको छ।
बरामद नगदसहित उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको एसएसपी खड्काले जानकारी दिए।
