वासिङ्टन डीसी । इरानमाथि अमेरिकाको र इजरायलको सैन्य कारबाहीपछि पश्चिम एसियामा द्वन्द्व चर्किरहेको बेला विश्व इन्धन बजारमा मूल्य वृद्धि देखिएको छ। औद्योगिक र ढुवानीका लागि अत्यावश्यक इन्धनको आपूर्ति सिमित भएपछि डिजेलको भाउ अमेरिकामा उच्च स्तरमा पुगेको छ।
इन्धन बजार ट्र्याक गर्ने ग्यासबडीका अनुसार, अमेरिकामा डिजेलको राष्ट्रिय औसत मूल्य सोमबार प्रति ग्यालन ५ डलरभन्दा माथि पुगेको छ। यसअघि यस्तो उच्च मूल्य २०२२ डिसेम्बरमा देखिएको थियो, जब रूसले युक्रेनमाथि आक्रमण गर्दा विश्व तेल बजार प्रभावित भएको थियो।
विशेषज्ञहरूले चेतावनी दिएका छन् कि डिजेल मूल्यमा आएको यस किसिमको वृद्धि विश्व आर्थिक गतिविधिमा ढिलाइ ल्याउन सक्छ। डिजेल उत्पादन, ढुवानी र विभिन्न औद्योगिक प्रक्रियामा व्यापक रूपमा प्रयोग हुने इन्धन भएकाले यसको मूल्य वृद्धिले अन्ततः उपभोक्तासम्म मूल्य वृद्धि पु-याउने सम्भावना रहन्छ।
पश्चिम एसियामा अमेरिकाले इजरायलसँग मिलेर इरानमाथि गरेको सैन्य कारबाहीले विश्व डिजेल आपूर्ति शृङ्खलामा ठूलो असर पारेको छ। स्ट्रेट अफ हर्मुजमा इरानको लगभग पूर्ण नाकाबन्दीले विश्वव्यापी समुद्री डिजेल आपूर्तिको २० प्रतिशतसम्म प्रभावित भएको छ। साथै, एसियाली रिफाइनरीहरूमा मध्यपूर्व कच्चा तेलको प्रवाह घटेसँगै उत्पादनमा कटौती भएको छ, जसले डिजेलको उपलब्धतामा थप दबाब सिर्जना गरेको छ।
अमेरिकाले रणनीतिक पेट्रोलियम भण्डारबाट तेल निकाले पनि हालसम्म मूल्य वृद्धिमा उल्लेखनीय कमी आएको छैन। अमेरिकी औसत पेट्रोल मूल्य पनि प्रति ग्यालन ३ डलर ७६ सेन्ट पुगेको छ, जुन २०२३ को अक्टोबरयताकै उच्च स्तर हो।
ग्यासबडीका पेट्रोलियम विश्लेषण प्रमुख प्याट्रिक डे हानका अनुसार, “जबसम्म स्ट्रेट अफ हर्मुजमा तेलको प्रवाह पर्याप्त रूपमा पुनः सुरु हुँदैन, तबसम्म इन्धन मूल्यमा बढ्दो दबाब कायम रहने सम्भावना छ।” यसले विश्वव्यापी इन्धन बजारमा अस्थिरता र मूल्य वृद्धिको जोखिम अझ बढाउने संकेत दिएको छ।
