काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने विशेष योजना सार्वजनिक गरेको छ। बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न समयमा प्रवाह भएका र विभिन्न वर्गमा रहेका कर्जाका ग्राहकलाई सहुलियत प्रदान गर्न योजना ल्याइएको जानकारी दिएको छ।
यस योजनाअन्तर्गत वि.सं. २०७९ साल चैत्र मसान्तअगाडि खराब वर्गमा वर्गीकरण भएका तथा अपलेखित कर्जा ग्राहकहरूले विशेष लाभ पाउनेछन्। सावाँ रकम १ करोड रुपैयाँसम्म रहेका यस्ता ऋणीहरूले वि.सं. २०८३ साल आषाढ मसान्तभित्र बैंकको तोकिएको शर्तअनुसार कर्जा चुक्ता गरेमा ब्याज छुटको सुविधा पाउनेछन्। बैंकले लामो समयदेखि कर्जा चुक्ता गर्न नसकेका ग्राहकहरूलाई यस सुवर्ण अवसरको सदुपयोग गर्दै आफ्नो कर्जा राफसाफ गर्न आग्रह गरेको छ।
त्यसैगरी, वि.सं. २०८० वैशाख १ गतेपछि निष्क्रिय तथा सक्रिय दुवै वर्गमा रहेका कर्जा ग्राहकहरूका लागि पनि छुट सुविधा उपलब्ध हुनेछ। यस्ता ऋणीहरूले वि.सं. २०८२ चैत्र मसान्तभित्र आफ्नो बक्यौता सावाँ र ब्याज बुझाएर कर्जा चुक्ता गरेमा वा कर्जालाई नियमित गरेमा ब्याज छुटको लाभ पाउनेछन्।
बैंकका अनुसार यस सहुलियतपूर्ण योजनामा सहभागी हुन र ब्याज छुटको लाभ लिन ऋणीहरूले सम्बन्धित बैंक शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलद्वारा जारी विज्ञप्तिमा आफ्ना सम्बन्धित कर्जा ग्राहकहरूलाई समयमै शाखामा सम्पर्क गरी यस आकर्षक योजनाको फाइदा उठाउन अनुरोध गरिएको छ।
