झापा, अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रको एक होटेलमा अनैतिक गतिविधि भइरहेको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गए राति करिब ९ः४५ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी नायब निरीक्षक राजेश पौडेलको नेतृत्वमा खटिएको टोलीले बसपार्क क्षेत्रदेखि करिब १०० मिटर दक्षिणतर्फ रहेको राईमान होटल एण्ड लजमा चेकजाँच गर्दा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
नियन्त्रणमा परेका व्यक्तिहरूमध्ये पाँच जना नेपाली महिलाहरू रहेका छन्। ती महिलाहरू हुन्: पाँचथरकी १८ वर्षीया मन्जुला सिवा, इलामको सन्दकपुर गाउँपालिका–५ की २२ वर्षीया उर्जली राई, झापाको भद्रपुर नगरपालिका–३ की २२ वर्षीया सन्ध्या लिम्बु, मोरङको मिक्लाजुङ गाउँपालिका–३ की २४ वर्षीया बिना राई, र ताप्लेजुङकी २१ वर्षीया रेसा लिम्बु।
त्यस्तै, नियन्त्रणमा परेका पुरुषमध्ये भारतको दार्जिलिङ बस्ने ३८ वर्षीय भिमबहादुर कागते, ३८ वर्षीय रोशन मगर, ४२ वर्षीय सन्तोष कागते, ४० वर्षीय विक्रम थापा र इलाम नगरपालिका–११ का २९ वर्षीय सन्तोष लिम्बु रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको विवरण संकलन गरी आवश्यक अनुसन्धान अघि बढाएको छ। घटनास्थलमा शंका र अभद्र गतिविधि रोक्न प्रहरीले नियमित अनुगमन बढाउने र बसपार्क क्षेत्रलाई सार्वजनिक सुरक्षाको दृष्टिले निगरानीमा राख्ने योजना बनाएको छ।
