काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई ऐतिहासिक जिम्मेवारीप्रति सजग रहन आग्रह गरेका छन्। आज सुरु भएको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा उनले जनताले दिएको अवसरलाई सम्मान गर्दै काम गर्ने आवश्यकतामा जोड दिएका हुन्।
उपसभापति वाग्लेले भने, “नेपाली जनतामा विकासको ठूलो अपेक्षा छ। वाचापत्र थिति बसाल्ने संकल्प हो। भताभुंग भएको अर्थ, राजनीति र सामाजिक संरचनालाई अब सम्हाल्नुपर्छ। नेपाली जनताले गर्न सक्ने म्यान्डेट दिएका छन्। बहुमत नआएको भए ठूलो पार्टी भए पनि यत्ति ठूलो जिम्मेवारी आउँदैनथ्यो। त्यसैले अब बहाना बनाउने अवस्था छैन। काम गरेर देखाउनैपर्छ। ऐतिहासिक जिम्मेवारीबोध पुरा गर्नुपर्छ।”
उनले सांसदहरूलाई खेलको नियमबारे पारंगत भएर लाग्न सुझाव दिँदै यसपटक नयाँ नेतृत्वले पुरानाले गर्न नसकेको काम पूरा गर्ने म्यान्डेट पाएको स्पष्ट पारे। उनले थपे, “२०४८, २०६४ र २०७४ मा बलियो म्यान्डेट पाएका सरकारले पनि आन्तरिक विवाद र किचलोका कारण प्रभावकारी काम गर्न सकेन। अब हाम्रो जिम्मेवारी फरक छ।”
कार्यक्रममा डा. वाग्लेले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया र जनप्रतिनिधिको उत्तरदायित्वबारे सचेत गराउँदै जनताले दिएका अवसरको सदुपयोग गर्न जोड दिएका छन्। उनले जनताको अपेक्षा अनुसार काम गरेर परिणाम देखाउने चुनौती स्वीकार्नुपर्नेमा बल दिएका छन्।
