काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गर्ने भएको छ। नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया र जनप्रतिनिधिको जिम्मेवारीबारे स्पष्ट जानकारी दिन कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।
पार्टीका प्रवक्ता मनिष झाले अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई संसद्को संरचना र कार्यप्रणाली, कानुन निर्माण प्रक्रिया, नीति निर्माण, संसदीय अभ्यास तथा जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा विस्तृत जानकारी गराइने बताए। साथै संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक सीप र दृष्टिकोणबारे पनि प्रशिक्षण दिइने उनको भनाइ छ।
अभिमुखीकरण कार्यक्रममा संसद्मा कसरी प्रभावकारी रूपमा प्रस्तुति दिने, नीति तथा कानुन निर्माणमा कसरी सहभागिता जनाउने, जनतासँगको सम्बन्ध कसरी मजबुत बनाउने तथा सुशासन र पारदर्शितालाई कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ। पार्टीले आगामी दिनमा अपनाउने नीति, राजनीतिक रणनीति र संसदीय प्राथमिकताबारे पनि सांसदहरूलाई जानकारी गराइनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली गरी कुल १८२ सिट हासिल गरेको छ। निर्वाचन परिणामसँगै पार्टी प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ।
यसैबीच, पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थित हुन आग्रह गर्दै छ बुँदे निर्देशन जारी गरिसकेका छन्। उनले कार्यक्रमलाई गम्भीरतापूर्वक लिन र संसदीय जिम्मेवारी निर्वाहका लागि आवश्यक तयारी गर्न सांसदहरूलाई आग्रह गरेका छन्।
पार्टीका अनुसार अभिमुखीकरण कार्यक्रमले नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिकाबारे स्पष्ट बुझाइ दिनुका साथै जनताको अपेक्षालाई नीतिगत निर्णयमार्फत सम्बोधन गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास गरिएको छ।
