काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गरिने एक अस्पतालमा सोमबार राति भएको हवाई आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ। यद्यपि, पाकिस्तानले अस्पताललाई लक्षित गरेर आक्रमण गरेको आरोप अस्वीकार गरेको छ।
अफगानिस्तानका उपसरकारी प्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै स्थानीय समयअनुसार राति करिब ९ बजे उक्त अस्पतालमा हवाई आक्रमण भएको बताएका छन्। उनका अनुसार २,००० शय्या क्षमताको अस्पतालको ठूलो भाग आक्रमणबाट ध्वस्त भएको छ।
फितरतले हालसम्म ४०० जनाको मृत्यु भएको र करिब २५० जना घाइते भएको जानकारी दिएका छन्। उद्धार टोलीहरू घटनास्थलमा खटिएर आगो नियन्त्रणमा लिने र भग्नावशेषबाट शव तथा घाइतेहरू निकाल्ने काम गरिरहेको उनले बताएका छन्।
स्थानीय टेलिभिजन च्यानलहरूले सार्वजनिक गरेका भिडियो फुटेजमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गरिरहेको र दमकलकर्मीहरूले भत्किएको भवनमा लागेको आगो निभाउने प्रयास गरिरहेको देखिन्छ।
यता पाकिस्तानले भने पूर्वी अफगानिस्तानमा गरिएका आफ्ना हवाई आक्रमणहरूले कुनै पनि गैरसैनिक क्षेत्रलाई लक्षित नगरेको दाबी गरेको छ।
दुवै छिमेकी देशबीच जारी तनाव पछिल्ला वर्षहरूयताकै सबैभन्दा घातक चरणमा पुगेको बताइएको छ। उक्त हवाई आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्र साझा सीमाक्षेत्रमा दुवै पक्षबीच गोली हानाहान भएको थियो, जसमा अफगानिस्तानतर्फ चार जनाको ज्यान गएको अफगान अधिकारीहरूले बताएका छन्।
अफगान सरकारले घटनाको कडा निन्दा गर्दै पाकिस्तानले अस्पतालसहित नागरिक संरचनालाई लक्षित गरी ‘आतंक फैलाउने’ प्रयास गरेको आरोप लगाएको छ।
