काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोगले यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमै निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय गरिएको छ।
राजनीतिक दलहरूले छनोट गरी आयोगमा पेस गरेका उम्मेदवारको विवरण सार्वजनिक गर्दै आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणा गरिसकेको छ। आयोगले राजनीतिक दलतर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटोसहितको विवरण मंगलबारभित्र उपलब्ध गराउन आग्रह गरेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ। आयोगले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको प्रतिनिधिसभा निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूर्ण हुने जनाएको छ।
