दार्चुला — दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार धामी आज महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्। उनी जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका थिए।
प्रहरीका अनुसार धामी महाकाली नगरपालिका–५ स्थित बसपार्क नजिकबाट साथीहरूसँग पौडी खेल्न गएका बेला नदीमा डुबेर बेपत्ता भएका हुन्। उनीसँगै गएका दुई जना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ।
बेपत्ता धामी खलङ्गास्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ। घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा नदी क्षेत्रमा उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।
