काठमाडौं — साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको हो।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार १४ अर्ब ३२ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार घटेर ११ अर्ब ९७ करोड रूपैयाँमा सीमित भएको छ।
यस दिन ३४५ वटा धितोपत्रका तीन करोड ७ लाख ९० हजार २११ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा आएका कम्पनीहरूमध्ये ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ। चार कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
सोमबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यस दिन सर्वाधिक मूल्य घट्नेमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ। उक्त इकाइको मूल्य ४.३९ प्रतिशतले घटेर प्रति इकाइ १० रूपैयाँ ३ पैसामा झरेको छ। यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रति कित्ता एक हजार ४६६ रूपैयाँमा सीमित भएको छ।
कारोबारका आधारमा सोमबार आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको सेयर ३९६ रूपैयाँ प्रतिकित्तामा ६८ करोड ७७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४.८२ प्रतिशतले बढेको हो।
सर्वाधिक कारोबार हुने दोस्रो सूचीमा नेसनल हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर २९७ रूपैयाँ प्रतिकित्तामा ६६ करोड १५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ सोमबार कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन्। तीमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले घटेको छ।
