कैलाली — कैलालीस्थित नेपाल–भारत सीमानाका त्रिनगर–गौरीफन्टामा सोमबार बिहान असामान्य भिडभाड देखियो। सामान्यतया मजदुरी वा किनमेलका लागि भारततर्फ जाने नेपालीहरूको लर्को लाग्ने यस नाकामा सोमबार भने भारतबाट स्वदेश फर्किने नेपालीहरूको भीड देखिएको थियो।
सीमानाकामा भेटिएका कैलालीका विजय विकले भारतमा खाना पकाउने ग्यास पाउनै मुस्किल हुन थालेपछि स्वदेश फर्कनुपरेको बताए। उनका अनुसार बिसु पर्व (नयाँ वर्ष) नजिकिँदै गरेकाले चैतको अन्त्यतिर घर फर्किने योजना भए पनि ग्यास अभावका कारण योजना अघि सार्नुपरेको हो।
‘बिसु मनाउन घर फर्किने सोच थियो,’ उनले भने, ‘तर ग्यास पाउनै गाह्रो भएपछि अगावै स्वदेश फर्किनुपर्यो।’ उनका अनुसार ग्यास अभावले भारतमा मजदुरी गर्ने नेपालीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
डोटीका रोशन खड्काले आफू कार्यरत होटल नै बन्द हुने अवस्थामा पुगेपछि स्वदेश फर्किएको बताए। भारतको मुम्बईबाट फर्किने क्रममा त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका उनले भने, ‘खाने र बस्ने सुविधा होटलमै थियो। तर ग्यास अभावका कारण होटल बन्द गर्ने तयारी भएपछि बेरोजगार हुने डरले स्वदेश फर्किएको हुँ।’
यस्तै, भारतको पुनामा कार्यरत डोटीकै महेश भट्टका अनुसार ग्यास र इन्धन अभावका कारण रोजगारीका लागि भारत पुगेका नेपालीहरू गम्भीर समस्यामा परेका छन्। उनका अनुसार होटल व्यवसायमा काम गर्ने धेरै नेपाली बेरोजगार हुने अवस्थामा पुगेका छन्।
‘कतिपय होटलमा ग्यास नपाएर दाउरा बाल्न सुरु भइसकेको छ,’ उनले भने, ‘कोठामा खाना पकाएर अन्यत्र काम गर्ने नेपालीलाई पनि ग्यास अभावले समस्या भइरहेको छ।’ उनका अनुसार भारतका विभिन्न स्थानमा इन्धन बिक्रीसमेत सीमित गरिएको छ।
खाडी क्षेत्रमा जारी युद्धका कारण इन्धन आपूर्तिमा समस्या उत्पन्न भएपछि भारतमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको वितरण प्रभावित भएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ग्यास अभावकै कारण ठूला शहरहरूमा करिब २० देखि ३० प्रतिशत होटल बन्द भएका छन्।
विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश भारतमा लाखौँ नेपाली रोजगारीका लागि बसोबास गर्दै आएका छन्। विशेषगरी सुदूरपश्चिम क्षेत्रका नागरिकका लागि रोजगारीको पहिलो गन्तव्य भारत नै मानिन्छ। तर हाल देखिएको ग्यास र इन्धन अभावले त्यहाँ कार्यरत नेपाली कामदारहरू प्रभावित हुन थालेका छन्, जसका कारण धेरै नेपाली स्वदेश फर्किन थालेका छन्।
