सुर्खेत — बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन्। उनीहरू सम्पर्कविहीन भएपछि परिवार र स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन्।
बेपत्ता हुनेहरूमा सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दियामा बसोबास गर्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार उनीहरू सिकार खेल्न निकुञ्ज क्षेत्रमा गएको र त्यसपछि सम्पर्कमा नआएपछि आइतबार बेलुका करिब ५ बजेतिर प्रहरीलाई बेपत्ता भएको जानकारी प्राप्त भएको हो।
सूचना प्राप्त भएपछि प्रहरीले तत्काल खोजी कार्य सुरु गरेको जनाएको छ। प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ। साथै, सम्भावित खोजी तथा समन्वयका लागि जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र बनाइएको छ। निकुञ्ज क्षेत्रको भौगोलिक अवस्था जटिल र जंगलयुक्त भएकाले खोजीमा चुनौती हुन सक्ने अनुमान गरिएको छ। स्थानीयवासी तथा सम्बन्धित निकायसँग समन्वय गरेर उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
