वासिङ्टन डिसी — अमेरिकाको जर्जिया राज्यमा विद्यार्थीहरूले गरेको एउटा ठट्टा दुःखद दुर्घटनामा परिणत हुँदा ४० वर्षीय शिक्षक जासोन ह्युजेजको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार विद्यार्थीहरूले ‘ट्वाइलेट पेपर प्र्याङ्क’ गर्ने क्रममा ह्युजेज घरबाहिर निस्कँदा अनायासै कारले उनलाई किचेको हो।
घटना शिक्षकको घरबाहिर भएको थियो। प्रहरीका अनुसार केही विद्यार्थीहरूले रमाइलोका लागि रूख र घर वरिपरि ट्वाइलेट पेपर फ्याँकेर ठट्टा गरिरहेका थिए। ह्युजेज विद्यार्थीहरूलाई रंगेहात समात्ने उद्देश्यले घरबाट बाहिर निस्किएका थिए। तर वर्षाका कारण भिजेको चिप्लो जमिनमा उनी अचानक लडेका थिए। त्यही बेला घटनास्थलबाट हतारिँदै भाग्न खोजिरहेका दुई कारमध्ये एकले उनी किचेको प्रहरीले जनाएको छ।
कार चलाइरहेका १८ वर्षीय विद्यार्थी जेडेन र्यान वालसविरुद्ध ‘भेहिकुलर होमिसाइड’ अर्थात् सवारी साधनमार्फत हत्याको आरोप लगाइएको छ। वालस र घटनामा संलग्न अन्य चार जना १८ वर्षीय विद्यार्थीमाथि निजी सम्पत्तिमा अनधिकृत प्रवेश र फोहोर फ्याँकेको आरोप पनि दर्ता गरिएको छ।
दुर्घटनापछि वालस र अन्य दुई विद्यार्थी घटनास्थलमै रोकिएर शिक्षकलाई सहयोग गर्ने प्रयास गरेका थिए। त्यसपछि आपत्कालीन सेवाका टोलीहरूले घाइते ह्युजेजलाई अस्पताल पुर्याए, तर उपचारका क्रममा उनको मृत्यु पुष्टि भएको छ।
घटनापछि ह्युजेजको परिवारले विद्यार्थीविरुद्ध कडा कारबाही नहोस् भन्ने आग्रह गरेको छ। ह्युजेजकी पत्नी लाउरा ह्युजेजले आफ्नो पति विद्यार्थीहरूबीच अत्यन्त लोकप्रिय र प्रिय शिक्षक रहेको बताएकी छन्। लाउराले भनिन् कि ह्युजेजलाई प्र्याङ्कबारे पहिले नै थाहा थियो र उनी विद्यार्थीहरूलाई रंगेहात समात्न पर्खिरहेका थिए। परिवारका अनुसार यो घटना जानाजानको होइन, दुर्भाग्यपूर्ण दुर्घटना हो। त्यसैले जासोन ह्युजेजको परिवारले ‘भेहिकुलर होमिसाइड’को आरोप हटाउन आग्रह गरेको छ।
स्थानीय समुदाय र विद्यालयमा पनि यस घटनाले गहिरो शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
