काठमाडौं — बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढेको भनी उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भएका छन्। तर ग्यास उद्योगीहरूले वास्तविक अर्थमा आपूर्ति अभाव नभई वितरण प्रणाली, ढुवानी समस्या र उपभोक्ताले गरेको अत्यधिक स्टकका कारण बजारमा अभावजस्तो देखिएको बताएका छन्।
एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार विगत चार–पाँच महिनादेखि नेपालमा आवश्यक परिमाणमा ग्यास आयात भइरहेको छ। नेपालमा मासिक करिब ४५ हजार मेट्रिक टन ग्यास खपत हुने भए पनि पछिल्ला महिनाहरूमा ४८–५० हजार मेट्रिक टन ग्यास आयात भएको तथ्यांक रहेको उनले बताए। भन्सार विभाग, आयल निगम र कर प्रणालीका तथ्यांकले पनि आवश्यक परिमाणमा ग्यास आएको देखाउने चन्दको दाबी छ।
उनका अनुसार कुल खपतको झन्डै ५० प्रतिशत ग्यास काठमाडौं उपत्यकामा प्रयोग हुन्छ। उपत्यकामा करिब डेढ–दुई महिनादेखि अभावजस्तो अवस्था देखिए पनि तराई क्षेत्रमा भने समस्या केही दिनअघि मात्रै देखिएको थियो। चन्दले बजारमा देखिएको अभावको मनोवैज्ञानिक असरलाई मुख्य कारण भनेका छन्। युद्ध र अन्तर्राष्ट्रिय समाचारले उपभोक्तामा त्रास बढाएर घरघरमा सिलिन्डर संचित गराएकोले अचानक माग बढेको उनको भनाइ छ।
उद्योगी र सरकारबीचको छलफलपछि हाल १४.२ केजीको सट्टा ७.१ केजीको आधा सिलिन्डर वितरण गर्ने निर्णय गरिएको छ। यसले उपलब्ध ग्यास बढी उपभोक्तामा वितरण गर्न सकिने अपेक्षा गरिएको छ। तर आधा सिलिन्डर वितरण गर्दा उद्योगीहरूको ढुवानी, लोडिङ–अनलोडिङ र श्रम खर्च दोब्बर भएको उनले बताए।
नेपालमा भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात हुने गर्दछ। पछिल्लो समयमा केही रिफाइनरी मर्मतका कारण आपूर्तिमा असन्तुलन देखिएको भए पनि भारतले नेपाललाई दिने ग्यासमा कुनै कटौती नगरेको चन्दले दाबी गरेका छन्। सामान्य अवस्थामा दैनिक ८०–९० वटा बुलेट ग्यास नेपाल भित्रिन्थे भने माग बढेसँगै ११०–१३५ बुलेटसम्म पुगेको छ।
चन्दले आवश्यक भन्दा बढी सिलिन्डर संचित भएका कारण बजारमा कृत्रिम माग बढेको बताए। नेपालमा करिब १ करोड ५० लाख सिलिन्डर छन् तर नियमित प्रयोग हुने सिलिन्डर करिब १ करोड मात्रै हो। बाँकी ५० लाख सिलिन्डर घर, पसल वा अन्य स्थानमा प्रयोगबिनै थन्किएका छन्। आधा सिलिन्डर वितरणले बजारमा थन्किएका सिलिन्डरहरू पुनः चलायमान गर्ने र वितरण प्रणाली सहज हुने अपेक्षा गरिएको उनको भनाइ छ।
उद्योगी, नेपाल आयल निगम र सरकारबीच निरन्तर समन्वय भइरहेको छ। उद्योगीहरूले आपसमा सहकार्य गर्दै ग्यास आपूर्ति व्यवस्थापनमा प्रयासरत रहेको चन्दले बताए।
