सुर्खेत — सुर्खेतमा एक महिला आफ्ना दुई छोराछोरीसहित बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दीपक कठायत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार आइतबार बिहान करिब ७ बजेतिर माया आफ्ना छोराछोरीसहित घरबाट निस्केपछि सम्पर्कविहीन भएकी हुन्। उनका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेपछि खोजी सुरु गरिएको हो।
त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा चार जनाको प्रहरी टोली तथा स्थानीयवासी खोजतलासमा खटिएका थिए। खोजीका क्रममा घरदेखि करिब तीन किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू भेरी नदीमा बेपत्ता भएको आशंका गरिएको छ। हाल भेरी नदी आसपासको क्षेत्रमा ३५ जना प्रहरी र स्थानीयको टोलीले खोजतलास जारी राखेको प्रहरीले जनाएको छ।
