अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरूलाई हर्मुज जलडमरूमा जहाजहरूको सुरक्षा सुनिश्चित गर्न संयुक्त प्रयास गर्न गरेको आग्रहलाई जापान र अस्ट्रेलियाले अस्वीकार गरेका छन्।
यी दुवै देशले तत्काल उक्त क्षेत्रमा नौसैनिक जहाज पठाउने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। सोमबार टोकियोमा प्रतिक्रिया दिँदै जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले मध्यपूर्वतर्फ सैन्य जहाज पठाउने निर्णय नभएको बताइन्।
उता, अस्ट्रेलियाले पनि आफूलाई त्यस्तो औपचारिक अनुरोध नभएको र हालका लागि सहयोगस्वरूप नौसैनिक जहाज नपठाउने जनाएको छ। अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध तेस्रो सातामा प्रवेश गरेसँगै मध्यपूर्व क्षेत्रमा अस्थिरता बढ्दै गएको छ।
यस अवस्थाले विश्व ऊर्जा बजारलाई समेत प्रभावित बनाएको छ। विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति पार हुने हर्मुज जलडमरू मार्ग अवरुद्ध हुने जोखिम बढेपछि ट्रम्पले तेलमा निर्भर देशहरूले आफैँ सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका हुन्।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायतलगायतका देशहरूले जलडमरूको सुरक्षामा सहभागी हुनुपर्ने बताएका थिए। उनका अनुसार अमेरिकाले यस विषयमा सात देशसँग सम्पर्क गरिसकेको छ, तर ती देशहरूको नाम भने सार्वजनिक गरिएको छैन।
जापानकी प्रधानमन्त्री ताकाइचीले आफ्नो देशको युद्ध त्याग्ने संविधानका कारण विदेशमा सैन्य जहाज पठाउने विषय संवेदनशील भएको बताइन्। “हामीले जहाज पठाउनेबारे कुनै निर्णय गरेका छैनौँ। कानुनी ढाँचाभित्र रहेर जापानले के गर्न सक्छ भन्नेबारे अध्ययन जारी छ,” उनले संसदमा भनिन्।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज नेतृत्वको सरकारकी मन्त्री क्याथरिन किंगले पनि अमेरिकाको तर्फबाट त्यस्तो आग्रह नभएको र अहिलेका लागि जहाज पठाउने योजना नरहेको बताइन्।
यसैबीच ट्रम्पले चीनमाथि पनि दबाब बढाएका छन्। उनले यस महिनाको अन्त्यमा बेइजिङमा हुने चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटअघि चीनले जलडमरू खुलाउन सहयोग नगरे आफ्नो भ्रमण स्थगित गर्न सक्ने संकेत दिएका छन्।
युरोपेली संघका विदेश मन्त्रीहरूले पनि सोमबार मध्यपूर्वमा सञ्चालन भइरहेको सानो नौसैनिक मिसनलाई बलियो बनाउने विषयमा छलफल गर्ने तयारी गरेका छन्। तर हर्मुज जलडमरूमा प्रत्यक्ष सुरक्षा विस्तार गर्ने निर्णय भने तत्काल हुने सम्भावना कम रहेको कूटनीतिक स्रोतहरूले बताएका छन्।
यसैबीच बेलायती प्रधानमन्त्री किर स्टार्मरले ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग जलडमरू पुनः खुलाउन आवश्यक कदमबारे छलफल गरेको बताइएको छ। दक्षिण कोरियाले पनि अमेरिकी प्रस्तावलाई सावधानीपूर्वक समीक्षा गर्ने जनाएको छ।
