काठमाडौं — कुवेतमा रहेको नेपाली दूतावासले नेपाल फर्किन चाहने त्यहाँ रहेका नेपाली नागरिकलाई साउदी अरब हुँदै स्वदेश फर्किन आग्रह गरेको छ।
मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै कुवेतमा बसोबास गर्ने नेपालीहरूले साउदी अरेबियाको विमानस्थल प्रयोग गरी नेपाल फर्कन सक्ने दूतावासले जनाएको छ। यसका लागि ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने पनि दूतावासले स्पष्ट पारेको छ।
भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी अरब प्रवेश गरी त्यहाँको विमानस्थल हुँदै नेपाल फर्किन सकिने भएकाले आवश्यक प्रक्रिया पूरा गरी भिसा आवेदन दिन दूतावासले अनुरोध गरेको छ।
सरकारले द्वन्द्वग्रस्त मध्यपूर्व क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सम्बन्धित देशमा रहेका दूतावासमार्फत उद्धार गर्ने निर्णय गरेको छ।
यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली नागरिकलाई युद्धसम्बन्धी दृश्यहरू खिच्ने वा सामाजिक सञ्जालमा सार्वजनिक नगर्न अबुधाबीस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
