ओडिसा — भारतको कटक मा रहेको एससीबी मेडिकल कलेज तथा अस्पताल मा आइतबार राति भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ।
राति करिब ३ बजे अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट आगो सुरु भएको जनाइएको छ। आगो छोटो समयमै फैलिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप ३ जनाको उपचारका क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आगलागी भएको बेला आईसीयू कक्षमा २३ जना बिरामी भर्ना थिए। उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयासका क्रममा अस्पतालका कम्तीमा ११ जना कर्मचारीसमेत जलेर घाइते भएका छन्। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ।
ओडिसाका मुख्यमन्त्री मोहन चरण माझी सोमबार बिहानै अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन्।
उक्त अस्पताल ओडिसाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था मानिन्छ, जहाँ राज्यभरबाट बिरामी उपचारका लागि आउने गर्छन्।
अस्पतालका आईसीयू कक्षहरूमा हुने यस्ता आगलागीका घटनाले स्वास्थ्य संस्थाको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। यसअघि अक्टोबर २०२५ मा सवाई मानसिंह अस्पताल को ट्रमा सेन्टरमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको थियो।
त्यतिबेला स्टोर रुममा रहेको स्मोक डिटेक्टरले काम नगर्दा अलार्म प्रणाली सक्रिय हुन सकेको थिएन, जसका कारण भेन्टिलेटरमा रहेका बिरामीहरूले ज्यान गुमाउनुपरेको थियो।
