भोजपुर — हिउँदको सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढेपछि भोजपुरमा विशेष सतर्कता अपनाउन थालिएको छ। डिभिजन वन कार्यालय भोजपुरले वन डढेलोबाट हुने धनजन तथा प्राकृतिक सम्पदाको क्षति न्यूनीकरण गर्ने उद्देश्यले चैत १ गतेदेखि जिल्लाभर सप्ताहव्यापी अभियान सञ्चालन गरेको हो।
‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका उच्च जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी बढाइएको छ।
अभियानका क्रममा जनस्तरमा सचेतना फैलाउन सञ्चार माध्यममार्फत सूचना प्रसारण गर्ने, विद्यालय तथा समुदायमा पुगेर अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने र जनचेतनामूलक सामग्री वितरण गर्ने काम भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजन वन प्रमुख खुद्रुस मियाँका अनुसार डढेलोको जोखिम बढी रहेका अरुण, टेम्केमैयुङ, पौवादुङमा, हतुवागढी र रामप्रसादराई गाउँपालिका तथा भोजपुर नगरपालिकाका तल्लो भेगमा होर्डिङ बोर्ड राख्ने र ‘अग्नि रेखा’ निर्माण गर्ने कार्यलाई तीव्रता दिइएको छ। साथै वन क्षेत्रमा जम्मा भएका सुकेका पातपतिङ्गर र झाडी सफा गरी डढेलो फैलिन नदिने रणनीति अपनाइएको छ।
स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा सञ्चालन भइरहेको अभियानअन्तर्गत वन हेरालुमार्फत नियमित गस्तीको व्यवस्था पनि मिलाइएको छ। वन क्षेत्रमा चुरोटका ठुटा जथाभाबी फाल्ने, आगो लगाएर छाड्ने वा सुख्खा घाँसपात जलाउने जस्ता लापरवाहीका कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको कार्यालयले जनाएको छ।
जैविक विविधता तथा वन्यजन्तुको वासस्थान संरक्षणका लागि नागरिक स्वयं सचेत हुनुपर्ने भन्दै वन कार्यालयले वन क्षेत्रमा डढेलो लागेको देखिएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।
