काठमाडौं — काठमाडौंको बौद्धस्थित ह्यात होटलभित्र सञ्चालित प्राइड क्यासिनोमा तोडफोड, लुटपाट तथा आगजनी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेका कुलध्वज लामा र राकेश लामालाई बौद्ध क्षेत्रबाटै आइतबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८२ भदौ २४ गते भएको हिंसात्मक घटनामा संलग्न मुख्य आरोपितहरूको खोजतलास गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थायी घर भई हाल बौद्ध बस्दै आएका ३७ वर्षीय कुलध्वज लामा ‘कुले’ र काभ्रेकै तेमाल गाउँपालिका–८ का ३७ वर्षीय राकेश लामा ‘कोरियन’ रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन्। कुलध्वज लामाविरुद्ध यसअघि ज्यान मार्ने उद्योग र सार्वजनिक अपराधलगायत पाँच वटा मुद्दा दर्ता भएको प्रहरी रेकर्डमा उल्लेख छ। त्यसैगरी राकेश लामाविरुद्ध अपहरण, शरीर बन्धक, अभद्र व्यवहार तथा सार्वजनिक अपराधसहित सात वटा मुद्दा दर्ता भइसकेका छन्।
होटल तथा क्यासिनोमा भएको क्षति, लुटपाट र आगजनीको घटनामा उनीहरूको संलग्नताबारे थप तथ्य खुलाउन प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
