काठमाडौं — साताको कारोबारको अन्तिम दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४.४५ अङ्कले बढेर २८२४.९० विन्दुमा बन्द भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतको वृद्धि हो।
परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम उत्साहजनक रह्यो। आज कुल ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सोलु हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, सालपा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशत र होटल फरेन्ट इनको मूल्य ९.९३ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेको छ। ग्रीनलाइफ हाइड्रोपावर र अभियान लघुवित्तको सेयर मूल्यमा पनि उल्लेख्य सुधार देखिएको छ।
आज सबैभन्दा धेरै गिरावट धर्मखोला हाइड्रोपावरको १० प्रतिशतले भएको छ। बजारमा अन्य समूहको सूचकमा २.८३ प्रतिशत सुधार देखिए पनि होटल, इन्भेष्टमेन्ट, जीवन बीमा र म्युचुअल फण्ड समूहमा मूल्य घटेको छ।
आज कुल १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
कारोबार रकमका आधारमा ग्रीनलाइफ हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जहाँ ८१ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै रिडी पावर कम्पनीको ६७ करोड ९६ लाख, नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख र हिमाल दोलखा हाइड्रोपावरको ५५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
