काठमाडौं — नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्या प्रकरणको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारसँग माग गरेको छ।
सङ्गठनका अध्यक्ष दलजित श्रीपाली नेतृत्वको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन–पत्र बुझाउँदै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय दिन आग्रह गरेको हो।
मोर्चाले घटनामा संलग्न व्यक्तिलाई तत्काल कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पीडित परिवारमा परेको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ।
ज्ञापन–पत्र ग्रहण गर्दै गृहमन्त्री अर्यालले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने आश्वासन दिएका छन्। उनले मुलुकमा दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउँदै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति–सुव्यवस्था कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आएकी १६ वर्षीया इनिसा विक स्थानीय उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भन्दै घरबाट निस्केकी उनी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
मोर्चाका अनुसार घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि क्रूरतापूर्वक हत्या गरिएको आशंका देखिएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ।
