उदयपुर — बेलका नगरपालिका–२ बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान प्रदेश १–०४०० १ त १३३२ नम्बरको ट्याक्टर गिदेरी खोलाको उकालो चढ्ने क्रममा पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा बेलका–२ बानडाँडाका १८ वर्षीय चालक सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।
घटनापछि इलाका प्रहरी कार्यालय रामपुरको टोली घटनास्थल पुगेर शवलाई पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बीपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टरमा खेत जोत्न प्रयोग हुने रोटाजेटर जडान गरिएको थियो। गिदेरी खोलाको उकालो चढ्ने क्रममा ट्याक्टरमा अत्यधिक भार परेपछि उक्त उपकरण खसेर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
