काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावमा पराजित होलान् भनेर आफूले नसोचेको बताएकी छन्।
राष्ट्रिय समाचार समिति (रासस)की पत्रकार कालिका खड्कासँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले चुनावी परिणाम अप्रत्याशित भएको बताएकी हुन्।
उनले भनिन्, “पुराना दलले पनि आत्तिनुपर्दैन, नयाँले मात्तिनु पर्दैन। हामीले पनि नसोचेको भयो। मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ। उहाँले ३०–४० वर्ष राजनीति गरेको ठाउँ, उहाँका इष्टमित्र सबै भएको क्षेत्र थियो।”
कार्कीका अनुसार अन्तिम भेटमा आफूले ओलीलाई जनताले अन्तिममा आफ्नै पार्टीलाई मत दिने कुरा समेत भनेकी थिइन्। “राजनीतिमा यस्तो हुन्छ, मेरा परिवारका मानिस पनि कांग्रेस छन्। वर्षभरि पार्टीलाई आलोचना गर्छन्, तर भोट दिने बेला आफ्नै पार्टीलाई दिन्छन्,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनपछि सबै दलले परिपक्वता देखाउनुपर्ने बताएकी छन्। “निर्वाचनअघि दलहरूबीच प्रतिस्पर्धा हुन्छ, तर परिणामपछि अल्पमतलाई पनि बेवास्ता गर्नु हुँदैन,” उनले भनिन्।
बालेनप्रति विश्वास
प्रधानमन्त्री कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)प्रति आफूलाई विश्वास रहेको पनि बताएकी छन्।
उनले बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाललाई एकताबद्ध गर्ने सन्देश दिएको आफूले महसुस गरेको बताइन्। “बालेनप्रति विश्वास छ, केही राम्रो होला भन्ने आशा पनि छ,” उनले भनिन्।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनाव लडेको थियो। चुनाव परिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ।
दलहरूले समानुपातिकतर्फ सांसदको सूची निर्वाचन आयोगमा बुझाएपछि आवश्यक प्रक्रिया पूरा भई नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ। रास्वपाले सहमतिअनुसार बालेनलाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरिसकेको छ।
सिंहदरबारभित्र सुधार आवश्यक
प्रधानमन्त्री कार्कीले सिंहदरबारभित्रको प्रशासनिक संरचनामा सुधार आवश्यक रहेको पनि बताएकी छन्। उनका अनुसार सचिवस्तरबाट हुने ढिलासुस्तीका कारण सरकारका काम प्रभावित हुने गरेका छन्।
“हरेक कामलाई सचिवहरूले फनफनी घुमाइरहन्छन्। स्वार्थ हुने विषयमा विकल्प ल्याइन्छ, तर देशको हितका विषयमा ‘हुन्न’ भन्ने मात्र सुनिन्छ,” उनले भनिन्।
उनका अनुसार सरकारको काममा करिब ७५ प्रतिशत असर प्रशासनिक ढिलासुस्तीका कारण पर्ने गरेको छ।
रोजगारी र सुशासनमा जोड
प्रधानमन्त्री कार्कीले नयाँ सरकारले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।
“देशमा सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव हो। भएका अवसरमा पनि नातावाद छ। यस्तो अवस्था हटाउँदै आर्थिक सुधार गर्नुपर्छ,” उनले भनिन्।
उनले परियोजनाहरू समयमै पूरा नहुने अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिन्। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय केही ठूला भ्रष्टाचार मुद्दा अघि बढाएको उल्लेख गर्दै कर्मचारीतन्त्रमा व्यापक सुधार आवश्यक रहेको बताइन्।
निजी जीवनमा फर्किने संकेत
प्रधानमन्त्री कार्कीले आफूले कठिन परिस्थितिमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पूरा गरेको बताउँदै अब निजी जीवनमा फर्किने संकेत गरेकी छन्।
राष्ट्रपति बन्ने चर्चा चलिरहेको विषयमा भने उनले कुनै चासो नरहेको स्पष्ट पारिन्।
“मभन्दा लायक र अवसर नपाएका धेरै मानिस छन्। सरकारले निर्वाचन गराउने जिम्मेवारी थियो, त्यो पूरा भयो,” उनले भनिन्।
नयाँ सरकारले युवालाई रोजगारी दिन, देशमै बस्ने वातावरण बनाउन र शिक्षामा सुधार ल्याउनुपर्ने उनको सुझाव छ।
“नेपाल प्राकृतिक स्रोतका हिसाबले अत्यन्तै सुन्दर देश हो। अब देशमा द्वन्द्व र तनाव नहोस्, सबै मिलेर बस्ने वातावरण बनोस् भन्ने मेरो कामना छ,” उनले भनिन्।
