काठमाडौँ — उच्च बाह्य बसाइँसराइ भएको जिल्ला रामेछापमा वैदेशिक रोजगारीले ग्रामीण समाज र अर्थतन्त्रमा ठूलो प्रभाव पारिरहेको एक अध्ययनले देखाएको छ। मन्थली र रामेछाप नगरपालिकामा गरिएको अध्ययनअनुसार कम्तीमा २४ प्रतिशत घरपरिवारका एक सदस्य वैदेशिक रोजगारीमा छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनसंख्या अध्ययन केन्द्रीय विभागमा एमफिल शोधका क्रममा चेतनाथ अधिकारीले २६० घरपरिवारमा गरेको अध्ययनले रेमिट्यान्स ग्रामीण परिवारका लागि मुख्य आयस्रोत बनेको देखाएको छ। अधिकांश परिवारले रेमिट्यान्स दैनिक उपभोग, शिक्षा, सेवा र ऋण तिर्न प्रयोग गर्ने गरेका छन् भने उत्पादनमूलक क्षेत्रमा यसको प्रयोग निकै कम रहेको पाइएको छ।
अध्ययनले वैदेशिक रोजगारीपछि ७३.१ प्रतिशत परिवारको आर्थिक अवस्था सुधारिएको देखाए पनि परिवार विखण्डन, कृषि उत्पादनमा कमी र सामाजिक चुनौती पनि बढेको उल्लेख गरेको छ।
गन्तव्यका रूपमा मध्यपूर्व ४७.७ प्रतिशतसहित प्रमुख रहेको छ भने त्यसपछि जापान र दक्षिण कोरिया रहेका छन्।
