तेहरान – इजरायलका लागि सूचनादाता (इनफर्मेन्ट) को रूपमा काम गरेको आरोपमा इरानले २० जनालाई पक्राउ गरेको छ। उनीहरूलाई इरानको उत्तर पश्चिमी वेष्ट अजरबैजान प्रान्तमा गिरफ्तार गरिएको हो।
सरकारी समाचार संस्था तास्निम न्युज एजेन्सीका अनुसार, स्थानीय अभियोजक कार्यालयले जारी गरेको वक्तव्यमा उनीहरूलाई इजरायलसँग सहकार्य गर्ने प्रयास गरेको आरोप लगाइएको छ। अभियोजकको भनाइअनुसार ती व्यक्तिहरूले इरानका सैन्य, प्रहरी र सुरक्षा संरचनासम्बन्धी विवरण इजरायललाई पठाएको पाइएछ।
वक्तव्यमा भनिएको छ कि “जायोनिस्ट शासनसँग सम्बन्धित भाडाका सञ्जालहरू विरुद्ध कारबाही गर्दै अदालतको आदेशमा २० जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ।”
यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गत साता प्रकाशित रिपोर्टमा उल्लेख गरेको छ कि इजरायलले इरानमाथि आक्रमणको नयाँ चरण सुरु गरेको छ र जमिनमा रहेका सूचनादाताबाट प्राप्त जानकारीको आधारमा सुरक्षा चौकीहरूलाई लक्षित गरिरहेको छ।
