काठमाडौं — धनुषा-१ को निर्वाचनसम्बन्धी विवादमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ। यसअन्तर्गत, धनुषा-१ मा आफ्नो उम्मेदवारी खारेज र नेकपाका मातृका यादवलाई विजयी घोषणाविरुद्ध रास्वपाका किशोरी साहले दायर गरेका छुट्टाछुट्टै रिटलाई एकैसाथ राखेर सुनुवाइ हुने भएको हो।
साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले मतदानको दुई दिनअघि उनकी उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। समय अभावका कारण मतपत्रमा साहको चुनाव चिह्न राखेर मतदान सम्पन्न गरिएको थियो।
मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले नेकपाका उम्मेदवार मातृका यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको थियो। त्यसविरुद्ध पनि साहले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। कुनै कारणले सुनुवाइ नसरेको हुँदा सर्वोच्चले आइतबार यो विवादको निकास दिने तयारी गरेको छ।
निर्वाचन आयोगका अनुसार साह कालोसूचीमा रहेकाले उजुरी परेपछि फागुन १८ गते उनकी उम्मेदवारी रद्द गरिएको थियो। तर, निर्वाचनमा साहले सबैभन्दा धेरै मत ल्याएकी छन्। आयोगले आफ्नो निर्णयअनुसार दोस्रो स्थानमा रहेका नेकपाका यादवलाई विजयी प्रमाणपत्र प्रदान गरेको छ।
