इस्लामावाद — तालिवानले पाकिस्तानका विभिन्न सहरमा ड्रोन आक्रमण गरेपछि प्रतिशोध स्वरूप पाकिस्तानी सेनाले अफगानिस्तानको कान्दाहारस्थित सैन्य अखडामा भीषण हवाई हमला गरेको छ।
पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले तालिवानको ड्रोन हमलाले राष्ट्रिय सुरक्षाको “लक्ष्मण रेखा” पार गरेको भन्दै कडा चेतावनी दिएलगत्तै शनिबार पाकिस्तानी लडाकु विमानहरूले कान्दाहारमा बमबारी गरेका हुन्।
पाकिस्तानको दाबी अनुसार कान्दाहारको उक्त सैन्य क्षेत्रमा बसेरै ड्रोन मार्फत आक्रमणहरू निर्देशित गरिएको थियो। यद्यपि, तालिवान अधिकारीहरूले भने पाकिस्तानले काम एयरको इन्धन डिपो र मानवीय सहायता सामग्री भण्डारण केन्द्रमा समेत क्षति पुर्याएको बताएका छन्।
यसअघि शुक्रबार राति तालिवानले पठाएका ड्रोनहरू पाकिस्तानी सेनाले बिचैमा खसालेको थियो। ड्रोनका अवशेष खस्दा क्वेटा, कोहाट र रावलपिन्डीमा दुई बालबालिकासहित केही सर्वसाधारण घाइते भएका थिए। ड्रोन आक्रमणको त्रासका कारण राजधानी इस्लामावादको हवाई क्षेत्र केही समयका लागि बन्द गरिएको थियो।
फेब्रुअरी २६ देखि सुरु भएको यो सैन्य भिडन्तमा अहिलेसम्म ७५ जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने १९३ जना घाइते भएका छन्, जसमा २४ जना बालबालिका रहेका छन्, संयुक्त राष्ट्रसंघले जनाएको छ। युद्धका कारण सीमा क्षेत्रका करिब १ लाख १५ हजार मानिस विस्थापित भएका छन्।
अफगानिस्तानको रक्षा मन्त्रालयले १४ जना पाकिस्तानी सैनिक मारिएको र बोर्डर पोस्ट कब्जा गरेको दाबी गरे पनि पाकिस्तानले यसलाई तालिवानको कल्पना भन्दै खारेज गरेको छ। पाकिस्तानले अफगानिस्तानमा रहेका टीटीपी र आईएसआईएस–के का लडाकुहरूले आफ्नो देशमा अशान्ति फैलाएको आरोप लगाउँदै आएको छ।
तालिवानले भने पाकिस्तानी आक्रमणमा निर्दोष र गरिब जनता मारिएको भन्दै आक्रोश व्यक्त गरेको छ। अमेरिका–इजरायल र इरानबीचको युद्धले क्षेत्रीय तनाव बढिरहेका बेला, पाकिस्तान र अफगानिस्तानबीचको यो भिडन्तले दक्षिण एसियालाई थप अस्थिर बनाउने जोखिम बढाएको छ। चीनले दुवै देशलाई संयम अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको भए पनि सीमामा तनाव अझै कम भएको छैन।
