सुनसरी — हरिनगर गाउँपालिका–१ मा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेका छन्, भने अर्का घाइते मिथुन दास हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार दुर्घटना भुटहाबाट हरिनगरतर्फ जाँदै गरेको प्रदेश–०१–०२–०५७ प ४८९९ नम्बरको मोटरसाइकललाई उखु बोकेको स–१ ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भएको हो।
गम्भीर घाइते दीपक दासको उपचारको क्रममा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ। अर्का घाइते मिथुन दासलाई विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजी कार्य जारी छ।
