काठमाडौँ — ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै जेनजी अभियन्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा भेला आह्वान गरेका छन्।
जेनजी अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै आज दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका हुन्। उनीहरूले आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा घटनामा संलग्न दोषीहरूमाथि कानुनी कारबाही गर्न सरकारलाई दबाब दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताएका छन्।
अभियन्ताहरूका अनुसार भदौ २३ र २४ मा भएको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन आयोगको प्रतिवेदन सार्वजनिक हुनु आवश्यक छ। प्रतिवेदन सार्वजनिक नभएसम्म पीडितहरूले न्याय नपाउने र घटनाबारे स्पष्ट जानकारी पनि नपाइने भन्दै उनीहरूले सरकारसँग पारदर्शिता कायम गर्न माग गरेका छन्।
सरकारले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई घटनाबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।
आयोगले आवश्यक अनुसन्धान, प्रमाण संकलन तथा सम्बन्धित पक्षहरूसँग छलफल गरेपछि फागुन २४ गते सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ। तर प्रतिवेदन बुझाएको केही समय बितिसक्दा पनि सरकारले त्यसलाई सार्वजनिक नगरेको भन्दै नागरिक समाज र अभियन्ताहरूले प्रश्न उठाउँदै आएका छन्।
जेनजी अभियन्ताहरूले प्रतिवेदन सार्वजनिक गरेर दोषी पहिचान गर्न, घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत कदम चाल्न सरकारसँग माग गरेका छन्।
उनीहरूले शान्तिपूर्ण ढंगले खबरदारी कार्यक्रम आयोजना गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिने बताएका छन्।
