तेहरान । इरानको पर्यटन मन्त्रालयले मध्यपूर्वमा जारी युद्ध १५औँ दिनमा प्रवेश गरेको जानकारी दिँदै त्यसका कारण देशभरका कम्तीमा ५६ वटा सङ्ग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षतिग्रस्त भएको जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार तेहरानमा अमेरिका–इजरायलको आक्रमणका कारण प्रारम्भिक दिनमै युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गोलेस्तान दरबारमा क्षति पुगेको छ। कजार वंशकालीन दरबार रहेको उक्त परिसर राजधानीका सबैभन्दा पुराना ऐतिहासिक स्थलमध्ये एक मानिन्छ। तेहरान क्षेत्रमा सबैभन्दा बढी स्मारकहरू क्षतिग्रस्त भएको बताइएको छ।
त्यस्तै, मध्य इरानको इस्फहान सहरमा रहेको १७औँ शताब्दीको प्रसिद्ध वास्तुकलात्मक क्षेत्र “नघ्स–ए जहाँ स्क्वायर” पनि युद्धका कारण प्रभावित भएको जनाइएको छ। बुशहर प्रान्तको सिराफ बन्दरगाह क्षेत्रमा रहेका शताब्दीयौँ पुराना भवन र ऐतिहासिक घरहरूमा पनि क्षति पुगेको जानकारी सार्वजनिक गरिएको छ।
संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक संस्था युनेस्कोले पनि इरान, इजरायल र लेबनानका सयौँ ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू युद्धका कारण क्षतिग्रस्त भएको वा जोखिममा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको एएफपीले जनाएको छ।
