रोल्पा — माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। शनिबार मध्याह्न १२ बजे रोल्पाको रून्टिगढी गाउँपालिका–७ खाक्सिवनकी निर्मला बुढाथोकीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनी ७ जना छिमेकीहरूसहित घरनजिकैको डाँडामा माटो लिन गएकी थिइन्।
माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएको खबर प्रहरीलाई प्राप्त भएपछि ७ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले जनाएको छ कि माटो पन्छाएर निकाल्दा निर्मलाको घटनास्थलमै मृत्यु भइसकेको थियो।
घटनामा २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीय पार्वती पुन घाइते भएका छन्। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ भने बाँकी तीन जनालाई केही नभएको प्रहरीले जनाएको छ।
