काठमाडौं — परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासी नेपालीहरूले विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभव मातृभूमिको विकास र उन्नयनमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। उनले गैरआवासीय नेपाली सङ्घको १२औँ विश्व सम्मेलनको आज काठमाडौंमा शुभारम्भ गर्दै प्रवासी नेपालीलाई मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा साझेदार बन्न आह्वान गरे। शर्माले प्रविधिको तीव्र विकासले देशको विकास प्रक्रियालाई द्रुत बनाएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरमा शक्ति सन्तुलनमा आएको परिवर्तनलाई ध्यानमा राखेर नेपालले भूराजनीतिक सम्बन्ध र सौम्य शक्ति वृद्धि गर्न सघंको भूमिका महत्वपूर्ण हुने बताए।
उनले प्रवासी नेपालीलाई नेपालको सांस्कृतिक दूतको रूपमा प्रस्तुत गर्दै पारस्परिक विश्वास र सहयोगमार्फत मातृभूमिमा योगदान पुर्याउन प्रेरित गरे। यसै सन्दर्भमा उनले सङ्घको संरक्षण र प्रवर्द्धनका लागि सरकारले आवश्यक ऐन परिमार्जन गर्ने योजना बनाएको जानकारी दिएका छन्। फरक प्रसङ्गमा, उनले अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विदेशमा रहेका नेपालीको सुरक्षा सरकारका लागि संवेदनशील रहेको र आपतकालीन अवस्थामा परराष्ट्र मन्त्रालय तथा सम्बन्धित मुलुकस्थित नेपाली नियोगमार्फत उद्धार उडान सञ्चालन गरिएको बताए।
सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले पनि नेपालमा लगानी भित्र्याउनेतर्फ संस्था सक्रिय रहेको र गैरआवासीय नेपालीको अधिकार संरक्षणमा सङ्घ प्रतिबद्ध रहेको दोहोर्याए। उनले प्रवासी नेपालीलाई मुलुकसँग जोड्न, लगानी, सीप र योगदानलाई अझ प्रभावकारी बनाउन सङ्घ निरन्तर काम गरिरहेको बताएका छन्। सम्मेलनमा प्रवासी नेपाली र नेपालको सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ रणनीति, कार्यक्रम र पहलहरू अघि बढाउने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
शर्माले प्रवासी नेपालीलाई आर्थिक मात्र नभई सांस्कृतिक, सामाजिक र राजनैतिक क्षेत्रमा पनि सशक्त साझेदार बनाउनुपर्नेमा जोड दिँदै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र विकासका लागि उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले प्रवासी नेपालीले देशको विकासमा योगदान पुर्याउँदा मात्र मातृभूमि र प्रवासी समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने र दुवै पक्षका लागि लाभदायक हुने बताए।
